नेपालको झापा जिल्लामा जन्मिएर ५ वर्षको उमेरदेखि सांगितिक यात्रा सुरु गरेका सुदिप दाहाल शास्त्रीय संगीत र गजलमा सुनौलो भविष्य कोर्दै आगाडी बढेका छन् ।
सानैदेखि ताल, लय र बिटप्रति विशेष रुचि रहेका उनलाई सोही रुचिका कारण उनका दाजुभाइ सरहका दाजु÷कजिन ओम नेपालले कीर्तन तथा भक्तिमय संगीततर्फ प्रेरित गरेका थिए ।
हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका उनले विगत ८ वर्षभन्दा बढी समयदेखि भारतीय शास्त्रीय संगीत सिक्दै आएका छन् । संगीतको क्षेत्रमा अगाडि बढ्ने क्रममा संगितकार गोविन्द फुयेलसँग भारतीय शास्त्रीय संगीत सिक्ने अवसर पाएका दाहालले संगीतका धेरै कुरा सिक्नुका साथै संगीतको संसारलाई अझ गहिराइबाट बुझ्ने अवसर पाएको बताउँछन् ।
हालसम्म उनले ५ भन्दा बढी भजन रेकर्ड गरिसकेको छन् भने उनको कला साधना मुख्यतः भजन र गजलमा केन्द्रित छ । आगामी केही वर्षभित्र गजलको एउटा एल्बम तयार गर्ने उनको योजना रहेको छ ।
भविष्यमा भगवानप्रतिको भक्ति, भगवानको स्तुति र उहाँको महिमा झल्किने किसिमका भजनहरू सिर्जना गर्ने उनको इच्छा छ । संगीतमार्फत भक्तिभाव व्यक्त गर्दै मानिसहरूको मनसम्म पुग्ने र आध्यात्मिक रूपमा जोडिने खालका सिर्जना गर्न चाहेको बताउँदै संगीतमा निरन्तर सिक्दै र नयाँ सिर्जना गर्दै अगाडि बढ्ने लक्ष्य रहेको उनले बताएका छन् ।


