बर्दघाट, ७ असार
बर्दघाट नगरपालिकामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइएको छ। ‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने विश्वव्यापी नारालाई केन्द्रमा राख्दै आयोजित कार्यक्रमले नगरलाई ‘योग नगर’का रूपमा विकास गर्ने अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।
बर्दघाट मण्डपमा सम्पन्न सामूहिक योग अभ्यास कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिहानैदेखि सञ्चालन गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारण उपस्थित भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा अन्तर्गत कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले योगलाई स्वस्थ जीवनको आधारका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले योग अभ्यासले शरीर र मन दुवैलाई सन्तुलित राख्न मद्दत गर्ने उल्लेख गर्दै यसको नियमित अभ्यासले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने धारणा राख्नुभयो।
सो अवसरमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई योगमैत्री नगरका रूपमा परिचित गराउने लक्ष्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले नागरिकको स्वास्थ्य सुधार, जीवनशैलीजन्य रोगको नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणका लागि योगलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायसहित स्थानीय नेतृत्वको उपस्थिति रहेको कार्यक्रममा अनुभवी प्रशिक्षकहरूले योगासन, प्राणायाम र ध्यानका विभिन्न विधिहरूको अभ्यास गराएका थिए। सहभागीहरूले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका विषयमा जानकारी समेत प्राप्त गरेका थिए।
नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले योगप्रति जनचासो अभिवृद्धि गर्नुका साथै स्वस्थ र सचेत समाज निर्माणको अभियानलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।



