भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर पुनः सक्रिय भएपछि मुम्बईस्थित अस्पतालमा उपचाररत रहेका रावतको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनका व्यवस्थापक सिद्धार्थ तिवारीका अनुसार रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचार गराइरहेका थिए। अभिनेता यशपाल शर्माले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रावतको निधन भएको पुष्टि गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्रमा समेत आफ्नो प्रभावशाली अभिनय प्रस्तुत गरेका थिए। उनले टेलिभिजन श्रृंखला महाभारत मा अश्वत्थामाको भूमिका निभाएर दर्शकमाझ विशेष परिचय बनाएका थिए।
त्यसपछि लगान, सरफरोश, गजिनी, राउडी राठौर लगायतका सफल चलचित्रमा शक्तिशाली खलनायकको भूमिकामार्फत उनले छुट्टै पहिचान स्थापित गरेका थिए।
नेपाली चलचित्र क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान रहेको छ। उनले ह्रस्व दीर्घ तथा आबाट आमा र आबाट आमा–२ मा अभिनय गरेका थिए। आबाट आमा–२ हाल आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको छ।
रावतको निधनपछि उनीसँग सहकार्य गरेका नेपाली कलाकारहरू विपना थापा, नीता ढुंगानालगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।