नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको आवाज सुनिएसँगै उद्धार कार्यमा नयाँ आशा पलाएको छ । मानवीय उद्धारअघिको इन्जिनियरिङ कार्यमा खटिएका सांसद एवं इन्जिनियरद्वय सागर ढकाल र श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको र उनीहरू जीवितै रहेको पुष्टि गरेका हुन् ।
सुरुङ विशेषज्ञसमेत रहेका सांसद न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले भित्र रहेका व्यक्तिहरूसँग दोहोरो संवादसमेत गरेका छन् ।
उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनी राखेको जिज्ञासामा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको न्यौपानेले जानकारी दिएका छन् । यो सकारात्मक संकेतपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई थप तीव्रता दिएको छ ।
विगत ८ दिनदेखि फिल्डमै खटिएका अर्का सांसद ढकालले करिब २० हजार घनमिटरभन्दा बढी लेदो र ढुङ्गा हटाएपछि इन्जिनियरिङ तर्फको काम सकिएको बताएका छन् । उनले यसलाई नेपाली इन्जिनियरिङ क्षेत्रको ऐतिहासिक सफलताका रूपमा चित्रण गरेका छन् ।
“यति ठुलो पहाड हाम्रो यथास्थितिको उपकरण प्रयोग गरेर हामीले सायदै गरेका होलाउ। सदन लगायतका धेरै ठाउँमा हामीले सकेनौँ, कमजोर भयौँ, उपकरण भएन भनेर भनिरहँदा हामीले गरेर नै देखाइदिएका छौँ, आशा जगाएका छौँ। बोलेका होइनौँ सल्लाह दिएका होइनौँ गरेर देखाएका हौँ,” उनले भनेका छन् ।
त्रिशुली–३ -ए) को सुरुङ्ग भित्र सुनियो जिवित मानिसको आवाज, उद्धार अन्तिम चरणमा