— रसुवामा आएको बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। सेनाका हेलिकोप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट १०१ विदेशी नागरिकसहित कुल ६९६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ।
सेनाका अनुसार थप २०० जनालाई स्थलमार्गबाट पनि सुरक्षित स्थानमा सारिएको छ। उद्धारसँगै प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ।
त्रिशूलीमा स्थापना गरिएको आकस्मिक उपचार केन्द्रमा वीर अस्पतालबाट परिचालित चिकित्सकसहितको टोलीले ३५४ जनाको उपचार तथा स्वास्थ्य परीक्षण गरेको छ। धुन्चे क्षेत्रमा फिल्ड एम्बुलेन्समार्फत खटिएको स्वास्थ्य टोलीले थप ५४६ जनालाई सेवा दिएको छ। यसरी हालसम्म ९०० जनाले स्वास्थ्य सेवा लिएका छन्।
खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन र तालिमप्राप्त सैनिक कुकुरको समेत प्रयोग गरिरहेको जनाएको छ।
बाढी प्रभावित रसुवा र नुवाकोटमा करिब ४ हजार २ सय सैनिक परिचालन गरिएको छ भने नुवाकोटदेखि चितवनसम्म थप १ हजार २ सयभन्दा बढी जनशक्ति उद्धार, उपचार र राहत वितरणमा खटिएका छन्।
यसैबीच, पृथ्वी राजमार्गमा थुप्रिएको लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने तथा बाढी प्रभावित क्षेत्रमा शव खोजी र उद्धार गर्ने कामसमेत सेनाले गरिरहेको छ।
नेपाली सेनाले आगामी दिनमा नदी किनारमा बेपत्ता तथा मृतकको खोजी, शव व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा र राहत कार्यलाई निरन्तरता दिने जनाएको छ। मैलुङ, टिमुरे र स्याफ्रुवेशी क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप सक्रिय बनाइने सेनाको योजना छ।