बर्दघाट, नवलपरासी । “श्रम र सीपको सदुपयोग गरौं, सम्पूर्ण फोटोग्राफर एकजुट होऔं” भन्ने मूल नाराका साथ नवलपरासी फोटोग्राफर संघले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार बर्दघाटस्थित पुरानो चौकी परिसरमा आयोजित रक्तदान कार्यक्रममा २ महिला र २१ पुरुष गरी कुल २३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष यज्ञमूर्ति भण्डारी (शिव) ले जानकारी दिनुभयो। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, परासी शाखाले प्राविधिक सहयोग गरेको थियो।
संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव सुरज चालिसेले गर्नुभएको थियो। नगर प्रमुख श्रेष्ठले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रम संयोजक भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, रक्तदानजस्तो पुण्य कार्यको आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो।
त्यसैगरी समाजसेवी राजेन्द्र सुनारले संघले समाजमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो तथा सातौँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा संघका अध्यक्ष सन्तोष श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, नेपाल रेडक्रस सोसाइटी परासी शाखा, कार्यक्रम संयोजक, संघका सक्रिय सदस्यहरू तथा सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्नुभयो।
नवलपरासी फोटोग्राफर संघले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।