समाचार

क्यानडामा शरणार्थीबाट PR बनेकाहरूलाई ठूलो झट्का: आफ्नै देश फर्किए PR गुम्न सक्ने!

Edmonton, Canada
August 22 , 2026
क्यानडामा संरक्षित व्यक्ति (Protected Person) बनेर पछि स्थायी बासिन्दा अर्थात् पीआर (Permanent Resident–PR) भएका व्यक्तिहरूका लागि एउटा महत्वपूर्ण कानुनी मुद्दा चर्चामा आएको छ।
रोमन स्लेप्सिक (Roman Slepcsik) सन् १९९७ मा चेक रिपब्लिक (Czech Republic) बाट क्यानडा आएका थिए। आफ्नो देशमा भएको हिंसाबाट बच्न उनले क्यानडामा शरण मागेका थिए।
सन् १९९८ मा उनलाई संरक्षित व्यक्ति (Protected Person) को मान्यता दिइयो भने सन् १९९९ मा उनी स्थायी बासिन्दा (Permanent Resident) बने।
तर करिब ३० वर्ष क्यानडामा बसेपछि अहिले उनी क्यानडाबाट हटाइने जोखिममा छन्।
यसको मुख्य कारण उनी पटक–पटक चेक रिपब्लिक फर्किनु हो। उनी गम्भीर बिरामी भाइको हेरचाह गर्न र परिवारका सदस्यको अन्त्येष्टिमा सहभागी हुन चेक रिपब्लिक गएका थिए। यात्राका क्रममा उनले चेक पासपोर्ट पनि प्रयोग गरेका थिए।
क्यानडाको कानुनअनुसार, शरणार्थी संरक्षण पाएको व्यक्तिले आफूले संरक्षण मागेको देशको सुरक्षा पुनः स्वेच्छाले लिएको ठहर भएमा उसको संरक्षित व्यक्तिको हैसियत समाप्त हुन सक्छ।
यसै आधारमा इमिग्रेसन एन्ड रेफ्युजी बोर्ड (Immigration and Refugee Board) ले स्लेप्सिकको संरक्षित व्यक्तिको हैसियत समाप्त गरेको थियो। त्यसपछि उनको स्थायी बासिन्दाको हैसियत अर्थात् पीआर स्टाटस पनि गुम्यो।

फेडरल कोर्ट (Federal Court) ले उनको संवैधानिक चुनौती अस्वीकार गरेको छ। तर अदालतले यो मुद्दाले महत्वपूर्ण कानुनी प्रश्न उठाएको भन्दै यसलाई थप अदालतमा चुनौती दिन सकिने बाटो खुला राखेको छ।
यो निर्णयले भविष्यमा आफ्नो देश फर्किने अन्य संरक्षित व्यक्तिहरू लाई पनि असर पार्न सक्ने देखिन्छ।
यस घटनाले शरणार्थी संरक्षण पाएर पछि पीआर बनेका व्यक्तिहरूलाई आफ्नो पुरानो देशमा यात्रा गर्दा कानुनी जोखिमबारे सचेत रहनुपर्ने महत्वपूर्ण सन्देश दिएको छ।

सम्बन्धित समाचार