Uncategorized

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन ,

८ असार, ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम (श्वासप्रश्वास समस्या) बाट पीडित उनी बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत थिए। आइतबार राति करिब पौने १० बजे उनको निधन भएको हो।

२००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलका माइलो सन्तानका रूपमा जन्मिएका खरेल नेपाली कांग्रेसभित्र आदर्शवादी नेताका रूपमा परिचित थिए। उनले २०२५/०२६ सालतिर तत्कालीन नेशनल कलेज (हाल शंकरदेव क्याम्पस) मा नेपाल विद्यार्थी संघको इकाइ गठन गरी सचिवको रूपमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

उनी २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन तथा २०६२/२०६३ को जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए। लोकतान्त्रिक आन्दोलनहरूमा निरन्तर सक्रिय रहँदा उनले करिब ९ वर्ष जेल जीवन पनि बिताएका थिए।

बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई आदर्श मान्ने खरेल पार्टी नेतृत्वसँग निकट रहेर लामो समय काम गरेका थिए। २०५६ सालमा सांसद निर्वाचित भएपछि उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार