चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।
भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने महाधिवेशनका लागि आवश्यक तयारीहरू पूरा भइसकेको पार्टीले जनाएको छ। देश तथा विदेशका विभिन्न समिति र संगठनहरूबाट प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भएको छ भने आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनका कामहरू पनि अन्तिम चरणमा पुगेका छन्।
पार्टीले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो। साथै राजनीतिक, आर्थिक तथा संगठनात्मक प्रतिवेदनहरू तयार भइसकेका छन्।
महाधिवेशनमा पार्टीको विधान र संगठनात्मक संरचनामा संशोधनसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्। प्रस्तावअनुसार केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने तथा पदाधिकारीमा कम्तीमा एक महिला अनिवार्य रहने व्यवस्था समावेश गरिएको छ।