Uncategorized

गगन थापालाई विश्वप्रकाश शर्माको शुभकामना : ‘बलियो कमान्डका लागि शुभकामना’

Edmonton Canada ‘
9 अक्टोबर 2026

नेपाली कांग्रेसका नवनिर्वाचित वरिष्ठ
उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापतिमा निर्वाचित गगन थापालाई नयाँ यात्राका लागि शुभकामना दिएका छन्। उनले थापालाई आफू साथमा रहेको विश्वास दिलाउँदै देशलाई समुन्नतिको गन्तव्यमा पुर्‍याउन धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’

उनले नेतृत्व परिवर्तनलाई लक्ष्य प्राप्ति नभई नयाँ यात्राको सुरुवातका रूपमा व्याख्या गरेका छन्। देशलाई गन्तव्यमा पुर्‍याउन लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गर्दै शर्माले फरक मत र विचार भएका व्यक्तिहरूलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्।

नयाँ यात्रामा विभिन्न चुनौती आउने भन्दै उनले तिनको सामना संयमका साथ गर्नुपर्नेमा जोड दिएका छन्। साथै, कांग्रेसले विगतका गौरवलाई पछ्याउँदै कमजोरीहरू सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै देशको समुन्नति सम्भव बनाउनुपर्ने बताएका छन्।

शर्माले गगन थापाको नेतृत्वमा लक्ष्य प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै आफू उनको साथमा रहेको सन्देश दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गगन थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको थियो।

कुल सदर मतका आधारमा थापाले ९४.६१ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीले ५.३९ प्रतिशत मत पाएका छन्। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार