Uncategorized

हेरिटेज फेस्टिभल २०२६ मा नेपाल पेभिलियनको भव्य तयारी, स्टल नम्बर ५१ मा नेपाली संस्कृति झल्किने ,

एडमन्टन, अल्बर्टा | जुलाई ३०, २०२६
पवित्रा घिमिरे,

विश्वकै सबैभन्दा ठूलो तीनदिने बहुसांस्कृतिक उत्सव मानिने हेरिटेज फेस्टिभल २०२६ आगामी अगस्ट १ देखि ३ सम्म क्यानडाको एडमन्टनस्थित Hawrelak Park मा आयोजना हुँदैछ। विश्वका विभिन्न देशका कला, संस्कृति, परम्परा, संगीत तथा परिकारलाई एउटै थलोमा प्रस्तुत गर्ने यस महोत्सवमा यस वर्ष पनि Nepalese Canadian Society of Edmonton (NECASE) ले नेपालको प्रतिनिधित्व गर्दै नेपाल पेभिलियन, स्टल नम्बर ५१ मार्फत नेपाली कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने भएको छ।

NECASE का अध्यक्ष रेखा किरण पौडेलका अनुसार, नेपाल पेभिलियनमा आउने आगन्तुकहरूले नेपाली संस्कृति, परम्परा, संगीत, नृत्य तथा स्वादिष्ट नेपाली परिकारको अनुभव लिन सक्नेछन्।

यस वर्ष नेपाल पेभिलियनका मुख्य आकर्षणमा भजन प्रस्तुति तथा सबै उमेर समूहका कलाकारहरूको नेपाली सांस्कृतिक नृत्य रहनेछन्। नेपाल पेभिलियन विषम (Odd) नम्बरको Pavilion भएकाले अगस्ट १, २ र ३ मा दिउँसो १२:३० बजेदेखि साँझ ७:०० बजेसम्म प्रत्येक आधा घण्टामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

अध्यक्ष रेखा किरण पौडेलले यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा थप स्वयंसेवकहरूको सहभागिता रहेको बताउँदै, उनीहरूको सक्रिय भूमिकाले कार्यक्रमलाई अझ व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

NECASE ले विगत २५ वर्षदेखि हेरिटेज फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ। यस वर्ष १५० भन्दा बढी स्वयंसेवक र कलाकारहरू नेपाल पेभिलियनलाई सफल बनाउन सक्रिय रूपमा खटिएका छन्।

अन्त्यमा अध्यक्ष रेखा किरण पौडेलले सम्पूर्ण दर्शक तथा आगन्तुकहरूलाई नेपाल पेभिलियन, स्टल नम्बर ५१ मा हार्दिक स्वागत गर्दै नेपाली संस्कृति, परम्परा, संगीत, नृत्य र स्वादिष्ट नेपाली परिकारको अनुभव लिन आग्रह गर्नुभयो। उहाँले सबैको सहभागिता र साथले नेपाली संस्कृतिलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

महोत्सवमा ६५ वटा पेभिलियनमार्फत ६० भन्दा बढी देश तथा संस्कृतिका स्वाद, सुगन्ध, कला, संगीत र परम्पराको अनुभव गराउन करिब तीन लाख (३,००,०००) आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।

Avatar photo

पवित्रा घिमिरे

सबै पोस्ट हेर्नुहोस्

सम्बन्धित समाचार