पवित्रा घिमिरे
एडमन्टन, क्यानडा
शुक्रबार, जुलाई १७
क्यालगरीमा भोलि (शनिबार) हुने नेपाली मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक टोलीले जानकारी दिँएको छ । कार्यक्रमका अधिकांश व्यवस्थापन पूरा भइसकेको, र आज रातिसम्म टेन्ट तथा अन्य संरचना जडान सकिने बताएको छ। भोलि बिहानदेखि स्वयंसेवक, कलाकार तथा व्यवस्थापन टोली मेला स्थलमा सक्रिय रहनेछन्। सहभागी सबै नेपाली समुदायलाई बिहानैदेखि मेला स्थलमा आइ कार्यक्रमको रौनक बढाउन अनुरोध गरिएको छ। यस वर्ष नेपालबाट आएका कलाकारहरूको प्रस्तुति, विभिन्न नेपाली समुदायका सांस्कृतिक कार्यक्रम तथा विविध मनोरञ्जनात्मक गतिविधिहरूले मेला विशेष बनाउनेछन्। मौसम गर्मी रहने भएकाले सहभागीहरूलाई टोपि, छाता, आवश्यक सामग्री साथमा ल्याउन, प्रशस्त पानी पिउन अनुरोध गरिएको छ। आयोजकले पिउने पानी, दुई वटा मिस्टिङ टेन्ट (Cooling Mist Tent) तथा विश्राम गर्ने ठाउँको व्यवस्था गरेको छ। कलाकारहरूका लागि छुट्टै तयारी तथा पोशाक परिवर्तन गर्ने स्थान पनि तोकिएको छ। मेला स्थलको सरसफाइलाई विशेष प्राथमिकतामा राखिएको छ। फोहोर तोकिएको स्थानमा मात्र फाल्न, वरिपरि फोहोर उठाएर डस्टबिनमा राख्न तथा आवश्यक परे स्वयंसेवकलाई जानकारी गराइ स्वच्छ वातावरण कायम राख्न सबैलाई अनुरोध गरिएको छ। स्वास्थ्य सुरक्षाका लागि समर्पित फर्स्ट एड टोली दिनभरि खटिनेछ। सामान्य स्वास्थ्य समस्या, चोटपटक, चक्कर आउने वा अन्य आकस्मिक अवस्था आएमा प्राथमिक उपचार उपलब्ध गराइनेछ, आवश्यक परे९११ मार्फत आपतकालीन स्वास्थ्य सेवा पनि समन्वय गरिनेछ। त्यस्तै, बालबालिका वा सामान हराएमा तत्काल सहायता उपलब्ध गराउन हराएको–भेटिएको (Lost and Found) सहायता केन्द्र व्यवस्था गरिएको छ। आयोजकले सबै सहभागीलाई परिवार, साथीभाइ र आफन्तसहित उपस्थित भई सुरक्षित, स्वच्छ र सभ्य वातावरणमा नेपाली कला, संस्कृति र परम्पराको उत्सवलाई भव्य रूपमा सफल बनाउन आयोजक ले सबैमा अनुरोध गरेको छ।