पवित्रा घिमिरे
एडमन्टन ,June 7
नेपाल हेरिटेज सोसाइटी एडमन्टन
(NHS) द्वारा आयोजित वार्षिक खेलकुद तथा पिकनिक कार्यक्रम Edmonton मा सम्पन्न भएको छ। विभिन्न उमेर समूह विधामा खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ। नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रमले यस वर्ष पनि उत्साहजनक सहभागिता जुटाएको थियो।
कार्यक्रममा ८ वर्षमुनिका तथा ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि छुट्टाछुट्टै खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो। साथै महिला तथा पुरुषतर्फ फुटबल प्रतियोगिता र पुरुषतर्फ क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो। सम्पूर्ण खेलहरू समूह ‘A’ र ‘B’ मा विभाजन गरी सञ्चालन गरिएको थियो।
पिकनिकमा सहभागीहरूले विभिन्न परिकारका स्वादिष्ट नेपाली खानाको स्वाद लिनुका साथै नाचगानमार्फत मनोरञ्जन पनि गरेका थिए।
संस्थाका अध्यक्ष देवेन्द्र कार्कीले नेपालीपनको संरक्षण, समुदायबीच एकता अभिवृद्धि तथा नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ८ वर्षमुनि समूहमा प्रणव अधिकारी, ८ वर्षमाथि समूहमा नितिन सुवेदी, महिलातर्फ सुबिना रिजाल तथा पुरुषतर्फ प्रलाद शर्मा उत्कृष्ट खेलाडी घोषित भएका थिए।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष भूपेन्द्र लामिछाने, नवराज सुबेदी , नरेन्द्र अधिकारी , पूर्व संस्थापक सदस्य रामबाबु पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अन्य पदाधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका पूर्व अध्यक्ष मधुसुदन पाण्डेले गर्नुभएको थियो भने सम्पूर्ण खेलहरूको अम्पायरिङको जिम्मेवारी संस्था का उपाध्यक्ष सगुन पाण्डेले सम्हाल्नुभएको थियो।
समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न कार्यक्रमले नेपाली संस्कृतिको प्रवर्द्धन र सामुदायिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ।