बेइजिङ — चीनले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने भएको छ। साथै, विपद् उद्धारका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने निर्णय पनि गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्यूरो बैठकले चीनको केरुङ आसपासको क्षेत्रमा आएको प्राकृतिक विपत्तिको अवस्थाबारे समीक्षा गर्दै नेपालमा परेको प्रभाव र आवश्यक सहयोगबारे छलफल गरेको हो।
बैठकमा विपत्तिपछि जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा विपत्तिपछिको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ।
बैठक सुरु हुनुअघि राष्ट्रपति सीसहित सहभागी नेताहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
चिनियाँ पक्षले आपत्कालीन उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकको पुनःस्थापना र आवश्यक राहत व्यवस्थापनमा थप प्रयास गर्ने जनाएको छ।