जुन २२
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई सोमबार साँझ सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ ऐरीचोकस्थित शुभ होटलको सभाहलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको थियो । सोही कार्यक्रमस्थलबाटै साँझ ५:४५ बजे उपाध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले उनलाई काठमाडौं पठाउन नेपालगञ्ज लैजाने तयारी थालिएको छ ।