एडमन्टन, क्यानडा — अगस्ट २५, २०२६
एडमन्टनमा रहेको आई हेल्प फाउन्डेसनले स्वयंसेवक सम्मान तथा प्रशंसा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका विभिन्न सामाजिक गतिविधिमा समय, श्रम र सहयोग प्रदान गर्दै आएका स्वयंसेवकहरूलाई सम्मान गरिएको थियो।
सन् २०२३ मा आवश्यकतामा परेका व्यक्तिहरूलाई कुनै पनि प्रकारको भेदभाव नगरी खाद्यान्न, औषधि, आश्रय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको फाउन्डेसनले नेपाल तथा अल्बर्टामा रहेका विपन्न र समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको छ।
फाउन्डेसनका संस्थापक अध्यक्ष सर्जु रञ्जितले स्वयंसेवकहरूको योगदानको कदर गर्दै थप हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ।
“हाम्रो लक्ष्य धेरै ठूलो छैन। हामी सानो काम गर्छौं, तर ठूलो मायाका साथ गर्छौं,” रञ्जितले भन्नुभयो।
स्थापनादेखि नै फाउन्डेसनले नेपाल र अल्बर्टा मा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सक्दो सहयोग पुर्याउदै आएको छ ।
स्वयंसेवकहरूको समय, मेहनत र सेवाभावको सम्मान गर्दै आयोजना गरिएको कार्यक्रमले आगामी दिनमा पनि सामाजिक सेवामा सक्रिय रहन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।