२७ जुलाई २०२६ | एडमन्टन, क्यानडा
पवित्रा घिमिरे
श्रावण महिना सुरु भएसँगै नेपालमा मात्र होइन, विदेशमा बसोबास गर्ने नेपाली समुदायमा पनि भगवान शिवप्रतिको आस्था झन् प्रगाढ बन्दै गएको छ। विशेषगरी आफ्नो भाषा, धर्म र संस्कृतिलाई जोगाइराख्ने माध्यमका रूपमा श्रावण महिनाको महत्व विदेशमा अझ बढी महसुस गर्न थालिएको छ।
क्यानडाको एडमन्टनका हिन्दू मन्दिरहरूमा श्रावणका सोमबार विशेष पूजा, जलाभिषेक र शिव आराधनामा श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको छ। भगवान शिवलाई प्रिय मानिने यस महिनामा भक्तजनहरूले व्रत बस्ने, शिवलिङ्गमा जल, दूध र बेलपत्र चढाउने तथा परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै पूजा–आराधना गर्ने परम्परालाई निरन्तरता दिइरहेका छन्।
नेपालका शिव मन्दिरहरूमा जस्तै, हजारौं किलोमिटर टाढा क्यानडामा रहेका नेपाली तथा अन्य हिन्दू समुदायले पनि धार्मिक आस्था र परम्परालाई जीवन्त राख्दै श्रावण महिनालाई विशेष महत्वका साथ मनाइरहेका छन्। विदेशमा रहेर नयाँ पुस्तालाई धर्म, संस्कृति र परम्परासँग जोड्ने माध्यमका रूपमा पनि मन्दिरहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
श्रद्धालुहरूका अनुसार व्यस्त जीवनशैलीका बीच पनि श्रावण महिनामा मन्दिर पुगेर पूजा–आराधना गर्दा आत्मिक शान्तिको अनुभूति हुने गरेको छ। साथै, यसले समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाएको विश्वास गरिएको छ।
नेपालबाट हजारौं किलोमिटर टाढा भए पनि भगवान शिवप्रतिको आस्था, धर्म, संस्कृति र परम्पराप्रतिको श्रद्धा उस्तै देखिएको छ। बरु, विदेशमा आफ्नो पहिचान जोगाउने माध्यमका रूपमा श्रावण महिनाको महत्व झन् बढ्दै गएको छ। श्रावण महिनाभर एडमन्टनका हिन्दू मन्दिरहरूमा विशेष पूजा, जलाभिषेक र भक्तजनहरूको सहभागिता निरन्तर रहने जनाइएको छ।