एडमन्टन —
अल्बर्टा सरकारले प्रान्तीय परिचयपत्र प्रणालीमा ठूलो परिवर्तनको घोषणा गरेको छ। सरकारका अनुसार जुलाई २, २०२६ देखि व्यक्तिगत पहिचान, ड्राइभिङ लाइसेन्स, स्वास्थ्य सेवा नम्बर (PHN) तथा नागरिकता सम्बन्धी विवरणलाई एकीकृत गरिएको नयाँ ‘अल-इन-वन’ चालक अनुमतिपत्र र फोटो परिचयपत्र जारी गर्न थालिनेछ।
यो परिवर्तनसँगै लामो समयदेखि प्रयोग हुँदै आएको कागजी स्वास्थ्य सेवा कार्डको अन्त्य हुने भएको छ। अब अल्बर्टावासीहरूको ९ अङ्कको व्यक्तिगत स्वास्थ्य नम्बर (PHN) ड्राइभर लाइसेन्स वा प्रान्तीय परिचयपत्रको पछाडिको भागमा सुरक्षित रूपमा समावेश गरिनेछ।
क्यानाडाली नागरिकका लागि नयाँ कार्डको माथिल्लो दायाँ कुनामा मेपल पातसहितको “CAN” चिन्ह रहनेछ। सरकारले यसले सरकारी सेवामा पहुँच सहज बनाउने तथा मतदान प्रक्रियाको विश्वसनीयता मजबुत पार्ने जनाएको छ।
नयाँ डिजाइनमा सन् २०१८ देखि प्रयोग हुँदै आएको डायनासोर प्रतीक हटाइनेछ। यसको स्थानमा तेल पम्पज्याक, अल्बर्टाको प्रान्तीय फूल ‘वाइल्ड रोज’ तथा “Alberta Strong and Free” नारालाई समावेश गरिएको छ।
हाल प्रयोगमा रहेका परिचयपत्रहरूमा कुनै अनिवार्य परिवर्तन गरिने छैन। ती कार्डहरूमा उल्लेखित म्यादसम्म मान्य रहनेछन्। तर जुलाई २ पछि नयाँ आवेदन वा नवीकरण गर्दा नागरिकहरूले क्यानाडामा कानुनी रूपमा बसोबास वा काम गर्न पाउने प्रमाणित कागजात (जस्तै क्यानाडाली राहदानी, जन्मदर्ता प्रमाणपत्र, स्थायी बसोबास कार्ड, काम वा अध्ययन अनुमति) तथा हालको कागजी स्वास्थ्य कार्ड पेश गर्नुपर्नेछ।
सरकारले आवश्यक कागजात संकलन गर्न समय लाग्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नवीकरणका क्रममा अतिरिक्त समय आवश्यक पर्नेहरूलाई एकपटकका लागि ६० दिनको विशेष अनुग्रह अवधि (Grace Period) प्रदान गर्ने जनाएको छ।
यो जानकारी अल्बर्टा सरकार तथा सर्भिस अल्बर्टाले जुन ३, २०२६ मा सार्वजनिक गरेको आधिकारिक घोषणामा उल्लेख गरिएको छ।