‘धेरै धेरै धन्यवाद अर्थमन्त्रीज्यू,’ १० लाख विजेता जोशीले फोनमा भन्नुभयो। जोशीले गत साउन ७ गते २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रुपैयाँ हात परेको हो ।
यसैगरी, अर्थमन्त्री वाग्लेले १ लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेललाई पनि बधाई दिए। खरेलले साउन ९ गते देवदह नगरपालिका मिलनचोकमा रहेको शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी किनेकी थिइन्। अर्थमन्त्रीले फोन गरेर बधाई दिँदा विजेता सपना खरेलले विश्वास नै गरेकी थिइनन्।
‘नमस्कार सपना जी, म स्वर्णिम वाग्ले। करदाता प्रोत्साहन कार्यक्रममा तपाईंले १ लाख रुपैयाँ पुरस्कार जित्नुभयो। ९ सय रुपैयाँको सामान किन्नुभएको थियो?’
अर्थमन्त्रीको प्रश्नमा उनले भनिन्, ‘ए हो र? मैले सामान त किनेको थिएँ।’
त्यसपछि अर्थमन्त्री वाग्लेले उनलाई आफूले किनेको सामानको बिल सुरक्षित राख्न आग्रह गरे। अर्थमन्त्री वाग्लेले जोशी र खरेल दुवैलाई अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले सम्पर्क गरेर पुरस्कार जितेकोबारे विस्तृत जानकारी दिने पनि बताए। सो क्रममा उनले अन्य विजेतालाई पनि फोन सम्पर्क गरी बधाई दिने प्रयास गरेका थिए, तर उनीहरूसँग फोन सम्पर्क भएन।
सरकारले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रम यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा स्वतः सहभागी हुने प्रणाली विकास गरिएको छ। तर, वस्तु तथा सेवा खरिद गरेपछि भ्याट तथा प्यान बिल भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ।
यसैगरी, नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने सक्कल भ्याट तथा प्यान बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागको उपहार पोर्टल (ttps://prize.ird.gov.np/) मा गएर दर्ता गराउनु पर्छ। सरकारले हरेक दिन एक जनालाई करकट्टी गरी १ लाख रुपैयाँ र प्रत्येक १५–१५ दिनमा २ जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराउनेछ।
उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुनेछ। एक लाख रुपैयाँको कुल उपहार रकम एक लाख ३३ हजार ३३४ मा २५ प्रतिशत करकट्टी गरेर विजेताले एक लाख नगद पाउने छन् भने १० लाख रुपैयाँको उपहारमा भने २५ प्रतिशत कर लाग्नेछ।